काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘छाया सरकार’ को गतिलाई थप सशक्त बनाउने तयारी गरेको छ । सरकारका मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउन लागेको हो ।
त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आजका लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिइन् । बैठकमार्फत कांग्रेसले ‘छाया सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।
कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ ९क० अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो ।
क मन्त्रालयस्तरीयहरे समन्वय समितिमा संयोजक र दुई सदस्य छन् । उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार छ । कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन् । छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने कांग्रेसले बताउँदै आएको छ ।
कांग्रेसको छाया सरकारमा दिलेन्द्रप्रसाद बडु गृह मन्त्रालयस्तरीय समितिको संयोजक छन् । यस्तै, मीनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की ऊर्जा संयोजकको जिम्मेवारीमा छन् ।





प्रतिक्रिया