काठमाडौं । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी हानेका हुन् ।
भिडियोमा देखिएका बेला उनी बच्चासहित छिन् । पौडेल महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्जको रुपमा कार्यरत छन् । अर्काको घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि सामान्य बल प्रयोग गरिएको पौडेल बताउँछन् । श्रेष्ठले आफूहरुलाई लाठीचार्ज गर्नुले प्रहरीको नियत प्रष्ट पारेको बताएकी छन् ।
को हो घटना
महानगरीय प्रहरी परिसर, ललितपुरमा भदौमा खत्रीले तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका थिए । मोबाइलसमेत लुटेर लगेको उनको दाबी थियो । उजुरीउपर सुनुवाई गर्ने क्रममा अन्य दुई जना भागे भने शाहसँग प्रहरीले सोधपुछ गर्यो ।
त्यस क्रममा शाह र खत्रीको सम्बन्ध सतहमा आयो र अनुसन्धानले अर्को मोड लियो । यो विषय प्रहरीमा पुग्नु अगावै शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् ।
शाहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गरिन् । त्यसैले नाता प्रमाणित गरिदिनुपर्ने उनको माग थियो । तर, खत्रीले द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ ।
ललितपुर प्रहरीले दुवै पक्षलाई राखेर ६ पटकसम्म छलफल गरायो । महिलाले खत्रीलाई छोराछोरी पढाउन २० लाख रुपैयाँ पनि दिएको दाबी गरेकी छन् । त्यो पनि फिर्ता पाउनुपर्ने उनको दाबी छ ।






प्रतिक्रिया