काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप शुक्रबारबाट नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ ।
१४ औं महाधिवेशनको तयारी स्वरूप प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेका हुन् ।
पार्टीको विधानले तोकेको कार्यविधिअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेको कांग्रेसले जनाएको छ ।
गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन १६ ९शुक्रबार० देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो ।
बैठकबाट कांग्रेसले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने पनि निर्णय गरेको थियो । हाल कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या झन्डै पाँच लाख छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि विधानका केही दफा निलम्बन गरेको छ । विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।
कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । तर, केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ गते बसेको बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५, प्रदेश अधिवेशन मंसिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया