प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा।डा। उत्तम शर्मा, प्रा।डा। प्रेम ज्ञवाली, डा। पवनराज चालिसे, डा। सुमन चापागाईं, डा। सुजित पौडेल र डा। मनीष प्रधानसँगै भारतीय डा। अनन्त कुमारसमेत हुनेछन् ।
डा। खड्गाका अनुसार मंगलबार राति भारतीय र नेपाली चिकित्सक बीच कसले के गर्नेलगायत विभिन्न पक्ष समावेश हुने गरी प्रत्यारोपणको योजना तय हुनेछ । हाल दिल्लीको म्याक्स हेल्थ केयरका युरोलजी रेनल ट्रान्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष डा। अनन्त कुमार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा भएको ओलीको पहिलो प्रत्यारोपणमा समेत सरिक थिए ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा। कृष्ण अधिकारीका अनुसार डा। अनन्त कुमारलाई मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिइएको छ । उनले त्यसका लागि सोमबार काउन्सिलमा निवेदन दिएका थिए ।
‘डा। अनन्तले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा मुख्य भूमिका खेल्ने भएकाले नै उनीबारे भविष्यमा विवाद नहोस् भनेर शल्यक्रियामा सहभागी हुन अनुमति लिएका हुन्,’ प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न हुने एक चिकित्सकले भने, ‘थुप्रै प्रत्यारोपण गरिसकेका डा। अनन्त कुमारसँग केही महिनादेखि प्रधानमन्त्रीको प्रत्यारोपणको विषयमा निरन्तर सम्पर्क भइरहेको थियो ।’
ओलीलाई आफ्नो मुलुकमा मिर्गौला प्रत्यारोपण गराउन विभिन्न सम्पर्क सूत्रमार्फत भारत र चीनले समेत निम्तो गरेका थिए । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन भारतबाट आएका दुई जनामध्ये अर्का नेफ्रोलजिस्टले भने काउन्सिलबाट उपचार प्रक्रियामा सरिक हुने अनुमति लिएका छैनन् ।





प्रतिक्रिया