देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक महिनालाई दैनिक उपभाेग्य वस्तु माैज्दात !

देशान्तर

राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात छ। कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ।’

कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन। सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो। अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन्।

विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचांै सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन्। ‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं।’

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ। निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन।

थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन्। ‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं। अहिल्यै आत्तिनु पर्ने अवस्था छैन। हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन्।’ अन्नपूर्ण पाेस्टमा खबर छ ।