देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सङ्घीय सरकारबिरुद्ध प्रदेश २ सरकार अदालत जाने

देशान्तर

सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वको जग्गाको केही भाग बिक्री गर्न गरेको निर्णयविरुद्ध प्रदेश नं २ सरकार अदालत जाने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री गर्ने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले सार्वजनिक जग्गा प्रदेश सरकार मातहत हस्तान्तरणका लागि सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए ।

साथै कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु सङ्घ सरकारले आफ्नै मातहत राखेकामा उक्त कार्यालयसमेत हस्तान्तरणका लागि पहल गर्ने निर्णय गरेको हो ।

यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको एकीकृत नमूना बस्ती निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने र सोको लागि समझदारी गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश सरकारको आजको बैठकले कक्षा १ देखि ८ सम्मको अतिविपन्न दलित तथा मुस्लिम छात्रालाई उपलब्ध गराउने भनिएको मासिक रु ५०० छात्रवृत्तिसम्बन्धी निर्देशिकासमेत पारित गरेको प्रेस संयोजक मिश्रले जानकारी गराए ।

त्यसैगरी रौतटहको गौरस्थित राइस मिलको जग्गाको स्वामित्व प्रदेश सरकारमा हस्तान्तरण गराउने प्रक्रिया थालनीको लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा एक सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।