देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कञ्‍चनपुरको ५० बिघा भूभाग भारततिर

देशान्तर

तत्कालीन बैतडी जिल्ला पञ्चायतले कञ्चनपुरको सीमा क्षेत्रमा पूर्वसैनिकलाई बसोबास गराउने निर्णय गरेपछि दार्चुलाको लाली क्षेत्रका दिलराज पन्त भारतीय सेनाको जागिर छाडेर घर फर्किए । उनी हालको बेलौरी नगरपालिकाको भुडा क्षेत्रमा बसोबास गर्न थाले ।

त्यतिबेला उनले पाएको डेढ बिघा जमिन अहिले भारतीय क्षेत्रमा परेको छ । पछिल्लो पटक संयुक्त सीमा सर्भे टोलीले विगतको सीमाभन्दा निकै वर आएर पिल्लर गाड्न खोजेको छ । ‘यही सीमा रक्षाका लागि हामी चोर र डाँकाहरूसँग लडेर यहाँ बस्यौं,’ पन्त भन्छन्, ‘अहिले त्यही जमिन पनि भारतमा पर्ने देखिएको छ ।’

साविकको ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा पन्तसहित ४० परिवारको ५० बिघाभन्दा बढी जमिन छ । चौधर नालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक सर्भे टोलीले निकै वर सीमास्तम्भ गाड्न थालेको छ । यसरी सीमास्तम्भ गाड्दा स्थानीय बासिन्दाको जमिन मात्रै होइन, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरसमेत भारतीय भूभागमा परेको छ ।

‘हामीसँग लालपुर्जा छ, मालपोत तिरिरहेका छौं, पानीपोत पनि तिरिरहेका छौं,’ पन्त भन्छन्, ‘अहिले आएर यो जमिन भारतमा कसरी पर्‍यो, जसको रक्षाका लागि हामीलाई बसाइयो, त्यही जमिन भारतमा कसरी हालियो ।’ उनका अनुसार गत साता भारतीय सुरक्षाकर्मी ९एसएसबी० सहितको टोलीले नेपालतर्फको दर्ता जमिनमै सीमास्तम्भ निर्माणका लागि खाल्डो खनेको छ । ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा खाल्डाहरू खनिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।