देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना भाइरस विरुद्धकाे खोप परीक्षण गरिंदै

देशान्तर

काठमाडाैँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धको खोपको परीक्षण गरिन लागेको छ । प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार (आज) हुने बिबिसीले जनाएको छ ।

तर ती स्वयंसेवीहरू आफू भने कोरोना भाइरसका सङ्क्रमित नरहेको बताइएको छ । उनीहरुले परीक्षणका लागि खोपका विभिन्न मात्रा लिनेछन् । जुन खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको तथा त्यसमा मेसिन्जर ‘आरएनए’को सानो भाग भएको बताइएको छ ।

पहिलो चरण परीक्षण हुन लागेको यस खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । परीक्षण गरिन लागेको खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने योजनाअनुसार यसमा अनुसन्धानरत वैज्ञानिकहरू निरन्तर खटिएका छन् ।