देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुलुकभरका अदालत कम्तीमा तीन हप्ता बन्द गर्ने तयारी, शुक्रबार मुद्दाको सुनुवाई नहुने

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो । शुक्रबार बिहान ११ः०० बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको थियो । अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो ।

अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुनेहुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै शुक्रबारका लागि पूर्ण बैठक तय गरको हो । शुक्रबारका लागि सम्पूर्ण मुद्दाको सुनुवाइ बन्द गर्ने भएको छ ।