देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल

देशान्तर

भारतबाट पछिल्ला दिनहरूमा फर्केकालाई सम्बन्धित जिल्ला र पालिकामै क्वारेन्टाइनमा राख्ने निर्णय कार्यान्वयन गर्न मुस्किल देखिएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै मंगलबार नेपाल भित्रिएका १ हजार १७ जनालाई प्रदेश सरकारले राति सम्बन्धित जिल्लामा पठाएको थियो ।

डोटीको दिपायल राजपुरस्थित सभाहलमा बनाइएको क्वारेन्टाइनमा पुगेका भारतबाट फर्किएकाहरू । तस्बिर स् मोहन शाहीरकान्तिपुर

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिएकामा अधिकांशले बस्नै नमानेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन्। सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका अनुसार चैत ६ देखि ११ सम्म भारतका विभिन्न सहरबाट कैलालीका विभिन्न नाका हुँदै ५२ हजार ५ सय ८७ जना नेपाल भित्रिएका छन्।

कतिपयले क्वारेन्टाइनमा बस्न नमानेको खबर आएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। ‘सबै पालिकालाई अनिवार्य रूपमा क्वारेन्टाइन बनाउन भनेका छौं,’ उनले भने, ‘तर धेरैजसोले क्वारेन्टाइनमा बस्नै नचाहेको जानकारी आएको छ। त्यस्तो अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर भए पनि उनीहरूलाई त्यहाँ राख्नुपर्छ भनेर सर्कुलर गरेका छौं।’ ‘भारतबाट पालिकामा आएकाको संख्या कति हो भन्ने यकिन हुन सकेन,’ बाजुराको बूढीगंगा नगरपालिका प्रमुख दीपकविक्रम शाहले भने, ‘संख्या यकिन भएपछि क्वारेन्टाइन तयार गर्ने कुरा त छ। तर हामीलाई जानकारी भएका कतिपय भने क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्।’

बैतडीमा दुई दिनमा भारतबाट ९० जना भित्रिएका छन्। जिल्लाको मुख्य झुलाघाट नाका बन्द भए पनि, मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा महाकाली नदी तरेर उनीहरू आएका हुन्। ट्युबबाट तरेर आएका उनीहरूमध्ये अहिलेसम्म ३५ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। अन्यको तथ्यांक संकलन गरेर सम्बन्धित पालिकाको जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए। कान्तिपुरमा खबर छ ।