कास्की । रुपा गाउँपालिकामा क्वरेन्टीनमा राखेर बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्वबन्धु नेपालीमा कोरोना नभएको पुष्टि भएको छ ।
रुपा गाउँपालिका-५ देउरालीमा रहेको सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वरेन्टीनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि कोरोना भए वा नभएको पुष्टि गर्न नमुना परीक्षणका लागि काठमाण्डौको टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु घिमिरेले जानकारी दिए ।
क्वरेन्टीनमा राखिएका व्यक्तिको मृत्यु भएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टीनमा मृत्यु भएपछि सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमुना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।
क्वारेन्टीनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उनले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ ।





प्रतिक्रिया