देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमित युवाको सम्पर्कमा आएका ९ जना क्वारेन्टाइनमा

देशान्तर

धनगढी । नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

सेती प्रादेशिक अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु-याउने अर्का १ जना गरी ९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरूको सामान्य स्वास्थ्य परीक्षणपछि धनगढी रङ्गशालामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण देखिएका युवकलाई पनि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । गत चैत ७ गते फ्लाइ इमिरेट्सको विमानबाट भारतको दिल्ली र दिल्लीबाट बिस्तारा एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुगेका ती युवक ८ गते बुद्ध एयरको जहाजमार्फत नेपालगञ्ज उत्रेर माईक्रो चढी धनगढीस्थित घर आइपुगेका थिए ।

घर आइपुगेको केही दिनपछि ज्वरो आउने तथा खोकी लाग्ने जस्ता लक्षण देखिएपछि ११ चैतमा सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले ११ गते नै उनको स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । प्रयोगशालामा परीक्षणका क्रममा उनको कोरोना संक्रमण देखिएको थियो ।