काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले दार्चुलासँग जोडिएको भारतीय सीमा धार्चुलामा रहेका नेपालीहरूलाई तत्काल नेपाल प्रवेशको प्रबन्ध गर्न माग गरेका छन् ।
देउवाले सामाजिक सञ्जालमार्फत भारतीय सीमा धार्चुलामा अलपत्र परेका नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर नेपाल प्रवेशको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट फर्किएका नेपाली नेपाल प्रवेश नपाएर सीमा क्षेत्रमा बिचल्ली परेका छन् । भारतको विभिन्न सहरबाट फर्किएका उनीहरू केही दिनदेखि धार्चुलामा बिचल्ली परेका छन् ।
सरकारले उनीहरूलाई नेपाल प्रवेश दिन कुनै प्रक्रिया अघि नबढाएपछि आइतबारदेखि उनीहरू सीमा क्षेत्रमा नेपाल प्रवेशको मागसहित नारा जुलुस गरिरहेका छन् । ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो ? दार्चुलाको सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौँ नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु,’ देउवाले ट्विटरमा भनेका छन् ।
धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र
लकडाउन र सीमा बन्दका कारण दार्चुलापारि धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल-भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार आइतबार साँझसम्म धार्चुलामा पाँच सयभन्दा बढी नेपाली आइपुगेका छन् ।
‘सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन छैन, सरकारले नभन्दासम्म पुल खोल्न पनि सकिँदैन,’ उनले भने, ‘त्यसमाथि भारतीय पक्षले आधिकारिक जानकारी पनि दिएको छैन ।’ सरकारको सीमानाका बन्द गर्ने निर्णयपछि गत मंगलबार ७८ र शुक्रबार दुई सय २५ नेपालीलाई दार्चुला ल्याएर सम्बन्धित गाउँपालिकाको जिम्मा लगाइएको थियो ।
दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेपछि धार्चुलामा अलपत्र परेका नेपालीलाई दार्चुला ल्याइने बताए । पारि अलपत्र परेका नेपाली भारतको सोबला, दर, मुन्स्यारीलगायतका क्षेत्रमा मजदुरी गर्थे ।
उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले स्थानीय सरकारहरूले क्वारेन्टाइनको तयारी नगर्दा समस्या भएको बताए । अलपत्र परेका नेपालीहरू खानसमेत नपाएको पीडा सुनाउँछन् । समूहमा बसेकाले उनीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ ।





प्रतिक्रिया