काठमाडौं । भारतीय सीमा क्षेत्रबाट खाद्यान्न लिएर आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरीलाई निलम्बन गरिएको छ ।
६ नम्बर गण सप्तरीमा कार्यरत् रहेका हवल्दार चौधरीलाई गणले निलम्बन गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए । लकडाउनको समयमा भारतीय सीमा क्षेत्रबाट सामान किनेर फर्किरहेका बलान बिहुल गाउँपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई नदी किनारमा सशस्त्र प्रहरीका जवानले कुटपिट गरेका थिए ।
उनीहरुलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । भिडियो सार्वजनिक भएलगत्रै सशस्त्र प्रहरी बलले गणपतिलाई निर्देशन दिएर छानबिन गर्न भनेको थियो । हवल्दार चौधरीलाई निलम्बन गरेर आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । हवल्दार चौधरीले पहिले एकजना युवकलाई लाठीले पिटेका छन् ।
पछि दुवैजनालाई घोप्टो पर्न लगाएर ढाडमा कुटपिट गरेका छन् । कान समात्न लगाएर उनीहरूलाई नदी किनारको बालुवामा घिस्रिन लगाएर कठोर यातना समेत दिइएको भिडिओमा देखिन्छ ।





प्रतिक्रिया