देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली सेनालाई विवादमा नतानौँ : राजपा

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेको छ । राजपा सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले शनिबार एक वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन् । झाले सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा सेना पन्छिन नसक्ने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हरेक विपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहँदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मी पछि उसैको भूमिका महत्वपूर्ण हुने हो । सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिँदैन, सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन ।’

झाले खरिद प्रक्रिया सेनालाई दिने सरकारको निर्णयमा भने असन्तुष्टि जनाएका छन् । औषधि तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय अहिलेको राजनीतिक र प्रशासनिक असक्षमताको उपज भएको उनको आरोप छ ।

सेनाले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने र सेनालाई विवादमा तान्न नहुने उनको भनाइ छ । सहमहामन्त्री झाले वक्तव्यमा विश्वमा नेपाली सेनाको सम्मानित र व्यावसायिक छवि रहेको भन्दै राजनीतिक आवरणको एउटा जत्था वर्षौदेखि सेनाको बदनामीका निम्ति नियोजित रूपमा लागेको आरोप लगाएका छन् ।

उनले आफ्नो वक्तव्यमा सेनालाई विवादमा तान्ने, अनावश्यक रूपमा जिस्क्याउने या उसलाई तेजोबध गर्ने काम स्वीकार्य नहुने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हरेक विपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौँ ।’

सहमहामन्त्री झाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा पनि असन्तुष्टि प्रकट गरेका छन् । उनले राष्ट्रपति भण्डारीलाई संविधान बमोजिम काम गर्न र दशगजामा अलपत्र परेका र देशभित्रका गरिब निमुखा नेपालीहरूका बारेमा चिन्ता गर्नसमेत आग्रह गरेका छन् ।

झाले नैतिकताका आधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।