देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समग्र अवस्थाको मूल्यांकन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री थापा

देशान्तर

काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।

नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लकडाउनको समय बढाइने जानकारी दिए ।

सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो ।

लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । गृहमन्त्री थापाले भने, ‘लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।’

उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले कोभिड–१९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा ९मास स्केलमा० परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो । समग्र अवस्थाको मूल्याङ्कन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए ।

कोभिड–१९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड–१९ को सङ्क्रमण भएको छ ।

यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ ।