देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना प्रभावित देशका नेपाली विद्यार्थीको तथ्याङ्क संकलन गर्दै नेका

देशान्तर

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले कोरोना प्रभावित देशमा रहेको नेपाली विद्यार्थीको तथ्याङ्क संकलन सुरु गरेको छ ।  कोरोना प्रभावित देशमा समस्यामा रहेका विद्यार्थीको तथ्याङ्क संकलन गर्न सुरु गरिएको नेकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, बेलायत तथा युरोपली राष्ट्रमा रहेका नेपाली विद्यार्थीको तथ्याङ्क राख्न सुरु गरिएको छ,’ नेकाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘ती देशको रहेको विद्यार्थीको समस्या पहिचान गरेर उनीहरुको स्वास्थ्य र आधारभुत आवश्यकता पुर्तिका लागि शिक्षा मन्त्रालय, विदेशस्थित दुतावासहरु, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपाली परनमर्श संघहरु तथा सम्बन्धित विदेशी नियोगहरुमा सुचनाको आदान प्रदान गर्दै समस्याको समाधान तर्फ अगाडि बढिरहेका छौं ।’

नेपालबाट ५ सय अमेरिकी डलर भन्दा बढि पठाउन सकिने व्यवस्था गर्नका लागि पनि शिक्षा मन्त्रालयसँग छलफल गरिरहेको जनाएको छ । ‘नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका विद्यार्थीलाई ५०० अमेरिकी डलर पठाउने व्यवस्था गरेकोमा उक्त रकम विद्यार्थीलाई अपुग हुने भएकाले महामारी अन्त्य नभएसम्मका लागि उक्त रकम बढाउन शिक्षा मन्त्रालयसँग बारम्बार छलफल गरिरहका छौं ।’

विश्वका धेरै देशमा लकडाउन गरिएकाले त्यसको असर अर्थतन्त्रमा परेको र त्यसबाट नेपाली विद्यार्थी प्रभावित भएको भन्दै नेकाले समस्या समाधानका लागि ‘एक्शन टिम’ गठन गरेर काम गरिरहेको जनाएको छ । साथै अस्ट्रेलिया तथा जापान जाने तयारीमा रहेको विद्यार्थीको सहजताका लागि तत्काल कदम चाल्न पनि माग गरिएको छ ।