धादिङ । धादिङका रञ्जित गौली कोभिड-१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् ।
अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आउनुभएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् ।
कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए ।
‘झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ’, गौलीले भने, ‘मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।’
कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे ।
शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, ‘तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।’
आफूलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउँछन् । ‘तातो पानी प्रयोग गर्ने, घरका सदस्यसँग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए’, उनले भने, ‘तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।’
उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् ।
उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । ‘मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड सङ्क्रमण भएको थियो । तर पनि म अत्तालिन । अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ’, उनले कोभिड–१९ सङ्क्रमणपछिको अनुभव साट्दै भने, ‘कोरोना सङ्क्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ ।’
अमेरिकाको न्यूयोर्क बस्दै आउनुभएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आउनुभएको हो । नीमा पेशाले नर्स छिन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताइन् ।‘घरमै
एकले अर्काको आत्मबल बढायौँ । खोकी र ज्वरोको औषधि सेवन गर्यौँ’, उनले भनिन्, ‘लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ । परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौँ । रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।’
उनले सकभर कोभिड हुन नदिने तर्फ नैं जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन भनिन् ।
पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि सङ्क्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को सङ्क्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकै अवस्थामा फर्कर्न सकिने निमाको बुझाई छ । रासस





प्रतिक्रिया