चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।
व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।
के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए ।
निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
यसैबीच, सामान बोकेर आएको एउटा वाइडबडी जहाजले भने ओभरशुट गरेको छ । धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
‘धावनमार्गमा टच हुन थालेको थियो तर पाइलट कन्फ्युज भएपछि जहाज ओभरशुट गराए, हवाइ उडानमा यसलाई सामान्य प्रक्रियाका रुपमा लिइन्छ ।’ ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढमाथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण गरेको छ ।





प्रतिक्रिया