देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा हालसम्म २५ हजार जनाको नमूना परीक्षण

देशान्तर

काठमाडौं ।  मुलुकभर हालसम्म कोरोना भाइरसको करिब २५ हजार नमूना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत लिएर गरिने ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)’ विधिबाट १६,५६५ र घाँटीको स्वाब लिएर गरिने पीसीआर विधिबाट ७,६८८ गरी कुल २४,२५३ वटा परीक्षण गरिएको जनाएको हो।

मन्त्रालयले आयोजना गर्ने गरेको नियमित ‘मिडिया ब्रिफिङ’मा प्रवक्ता एवम्‌ स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामै ४,८२२ वटा परीक्षण गरीएको जानकारी दिए।

विभिन्न जिल्लाबाट ‘र्‍यापिड टेस्ट’ गर्दा नतिजा पोजेटिभ आएकाहरूको ‘पिसीआर’बाट पुनः परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको डा. देवकोटाले बताए । उनका अनुसार हालसम्म देशभरका ७७ मध्ये ७५ वटा जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरू भइसकेको छ।

अब सोलुखुम्बु र डोल्पामा मात्र ‘र्‍यापिड टेस्ट’ सुरू हुन बाँकी छ। सरकारले हालसम्म ७० हजार परीक्षण किट प्रदेशमा पठाएको छ। प्रत्येक प्रदेशमा गत हप्ता नै पाँच/पाँच हजारका दरले यो किट पठाइएको थियो।

यसैबीच, ललितपुरको पाटन अस्पतालमा ‘पिसीआर मेसिन’ जडान गरिएको छ। पाटनमा यो मेसिनबाट परीक्षण सुरू भएपछि देशभर ‘पिसीआर’ प्रविधिबाट परीक्षण हुने स्थान संख्या १४ पुग्नेछ। देशभर ४,६०७ जना क्वारेन्टाइनमा रहेका र परीक्षण भएसँगै घट्दै गइरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए।