देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न देउवाको आग्रह

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिको सामना गर्न अपिल गरेका छन् । उनले कुनै पनि जात, धर्म अथवा समुदायको आस्था तथा भावनामा चोट पुग्ने ढंगले व्यवहार र अभिव्यक्ति नदिन सबैलाई आग्रह गरेका छन् ।

‘कुनैपनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपिल गर्दछु’, देउवाले एक विज्ञप्तिमार्फत भनेका छन् । उनले आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि हार्दिक अपिल गर्न चाहेको बताएका छन् ।

‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ । कोरोनाको जोखिम सामना गर्न परिक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता म फेरि पनि औंल्याउन चाहेको देउवाले बताएका छन् ।

उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर परिस्थितिलाई थप असहज बन्नबाट रोक्न माग सरकारसँग गरेका छन् ।