देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका ११ केन्द्रीय सदस्यले भने सरकारले वैधता गुमाइसक्यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यले सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै प्रतिरोध आन्दोलनका लागि आह्वान गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग आन्दोलनबारे ठोस निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउनसँग माग पनि गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले बुधबार संयुक्त विज्ञप्ति निकालेर तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् ।

सरकारले ल्याएको दुई अध्यादेशलाई औचित्यहीन भन्दै उनीहरुले यसबाट सरकारको बदनियत देखिएको पनि उल्लेख गरेका छन् । सभापतिले पार्टी पदाधिकारीको बैठक राखेकै दिनमा उनीहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।

लकडाउन नै भए पनि प्रविधिको प्रयोग गरी बैठक बस्न आग्रह गर्दै उनीहरुले भनेका छन्, ‘यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धको प्रतिरोध आन्दोलनलाई सशक्त र परिणाममुखी बनाउन पार्टीभित्र वृहत छलफल आवश्यक भएकाले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं ।’

सरकारले बैशाख ८ गते राति राजनीतिक दल फुटाउने र विपक्षी बिनै संवैधानिक परिषद बैठक राख्नेसम्बन्धि दुई वटा अध्यादेश ल्याएको छ । सबैलाई एक बनाई महामारीसँग जुध्नुपर्ने समयमा ल्याइएका ती अध्यादेश कुनै कोणबाट पनि औचित्यपूर्ण नरहेको उनीहरुले भनेका छन् ।