काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन आग्रह गरेका छन् । लोकतन्त्र कमजोर पार्ने खेलमा सरकार उद्धत रहेकोले सजग रहन सभापति देउवाले आग्रह गरेका हुन् ।
लोकतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु,’ सरकारले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर संविधानको मर्म विपरीत काम गरेको सभापति देउवाको भनाइ छ ।
‘नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्धत हुन थालेको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।
सभापति देउवाले गलत मनसायका साथ जारी गरेका अध्यादेश फिर्ता गर्न सरकारसँग माग समेत गरे । लोकतन्त्रमाथिको यो घृणित कार्यको हामी सबैले भर्त्सना गर्नुपर्दछ। उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु,’ उनले भनेका छन् ।
लोकतन्त्र दिवसको सन्देश
मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो प्राणको आहुति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरुप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र बलिदानको म स्मरण गर्दछु र उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो । यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।
वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ । लोकतन्त्र माथिको यो घृणित कार्यको हामी सबैले भर्त्सना गर्नु पर्दछ । उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु ।
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु । यो अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति





प्रतिक्रिया