देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि राहत प्याकेज घोषणा गरियोस् : प्रेस युनियन

देशान्तर

काठमाडौं । नेपाल प्रेस युनियनले सरकारसँग सञ्चारकर्मी र सञ्चार माध्यमहरूका लागि राहतको प्याकेज घोषणा गर्न आग्रह गरेको छ । शुक्रबार युनियनका अध्यक्ष बद्री सिग्देलले एक विज्ञप्ति जारी गर्दै जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका हुन् ।

‘लकडाउनका कारण नेपाली सञ्चारक्षेत्रमा गम्भीर समस्या सिर्जना भएको, संचारकर्मीहरुलाई समयमै तलब उपलब्ध नगराइदा समस्या भएकाले राहत प्याकेजको माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ- ‘विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको छ ।’

यस्तो संकटको अवस्थामा समयमा सञ्चारकर्मीहरुलाई तलब उपलब्ध नगराउँदा दैनिक गुजारा चलाउन कठिनाई हुनु र जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुनु सञ्चारक्षेत्रका लागि निकै दुखद पक्ष रहेको प्रेस युनियनको ठहर छ । ‘सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने हो भने, लम्बिदै गएको लकडाउनका कारण भोली अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला ?’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मोफसल र दुरदराजमा रहेर सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो, अनलाइनमा होइन शहर बजारबाट संचालिन साना ठूला संचारगृहमा लकडाउनका कारण समस्यामा परेकाले यस विषयमा पनि सरकार गम्भिर बन्नुपर्ने माग युनियनले राखेको छ । समस्यामा रहेका संचारकर्मी र संचारगृहहरुलाई युनियनले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिहरुलाई सम्पर्क गर्न आग्रह गर्दैै सक्दो सहयोग गर्ने समेत जनाएको छ ।