देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वमन्त्री भण्डारीद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

देशान्तर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई शनिबार स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले पूर्वमन्त्री भण्डारीले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

सबै स्थानीय तहलाई गरी करिब रु दुई लाख बराबरको व्यक्तिगत सुरक्षा कवच (पिपिइ), स्यानिटाइजर, मास्क वितरण गरिएको पूर्वमन्त्री भण्डारीले जानकारी दिनुभयो । पूर्वमन्त्री भण्डारीले सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई उक्त सामग्री वितरण गर्नुभएको छ । भण्डारीका अनुसार स्थानीय तह, स्वास्थ्य सहायता कक्ष, निजी अस्पताल, प्रहरीलगायतलाई गरी २० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच थर्मलगन र स्यानिटाइजर वितरण गरिएको छ ।

उहाँका अनुसार प्रत्येक गाउँपालिकालाई एक–एक थान पिपिइ, २०० थान मास्क र स्यानिटाइजर वितरण गरिएको छ भने आँबुखैरेनीस्थित स्वास्थ्य सहायता कक्ष र मिर्लुङको स्वास्थ्य सहायता कक्षमा पाँच थर्मलगन वितरण गरिएको छ । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

यसअघि व्यास नगरपालिकामा शनिबार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेकाले आफूले सकेको सहयोग गर्ने बताउनुभयो । जिल्लाका स्थानीय तहमा स्वास्थ्य सामग्री अभाव भइरहेको जानकारी पाएपछि सहयोग गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहलाई आगामी दिनमा पनि सहयोग गर्नेछु ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्राप्त भएको स्वास्थ्य सामग्रीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनुभयो । कोभिड–१९ का सङ्क्रमित वृद्धि हुने क्रम बढेकाले आगामी दिन थप सङ्कटपूर्ण हुने हुँदा सबैले सतर्कता अपनाउनुपर्नेमा न्यौपानेले जोड दिनुभयो । नगरपालिकाले बन्दाबन्दीबाट प्रभावित विपन्न तथा असहायहरूलाई करिब रु ५० लाख बराबरको राहत वितरण गरिसकेको न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पनि जिल्लाका स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।