देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपामा गुटगत भेलाको दौडधूप, प्रधानमन्त्रीको प्रतिरक्षामा ओलीनिकट नेता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलालाई चर्को बढाएका छन् । आइतबार दिउँसो देखि नै प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफू निकट नेताहरुलाई बोलाएर आफ्नो बाध्यता बुझाउने प्रयास गरेका छन् ।

पछिल्लो पटक पार्टीमा समेत छलफल नगरी दल विभाजन गर्न सहज हुने र संवैधानिक नियुक्तीका लागि विपक्षी दलसँग समेत सल्लाह गर्न नपर्ने दुई अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीमा एक्लिएका छन् । सचिवालयका अधिकांश सदस्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएपछि प्रधानमन्त्री ओलीले भेटघाट बढाएका हुन् ।

यही परिस्थिति उत्पन्न भएपछि ओलीलाई ‘फेरि बलियो बनाउन’ प्रदेश ५ का मुख्यमन्त्री समेत काठमाडौं आइपुगेका छन् । स्रोतका अनुसार पोखरेल, परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलगायत नेताहरुसँग छलफलमा भएकाले नै प्रधानमन्त्री अ‍ोलीले आज दिउँसो तय भएको मन्त्रिपरिषद् बैठक साँझका लागि सारेका थिए ।

पोखरेल र ज्ञवाली अहिले ओलीलाई पार्टीमा फेरि पहिलेको नै स्थानमा ल्याउन सक्रिय भएर लागिरहेका छन् । रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि यसमा समन्वयकारी भूमिका खेलिरहेका छन् ।

बालुवाटार स्रोतका अनुसार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर परराष्ट्रमन्त्री ज्ञवाली माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए । ओलीले नेपाललाई आफ्नो पक्षमा ल्याउन पाएमा अहिलेको समीकरणमा आफू पुनः फर्किन पाउन भन्ने सोच बनाएका छन् । स्रोतका अनुसार यसका लागि उनले नेपाललाई आगमि अध्यक्ष बनाउने वचनसमेत दिने भएका छन् ।

‘जसरी हुन्छ माधवकुमार नेपाललाई अहिले आफ्नो पक्षमा पार्न ओली अगाडि बढेका छन्,’ नेकपाका एक केन्द्रीय सदस्य बताउँछन्, ‘माधवकुमार नेपालले अहिले सहज बनाइदिए अरु कुराहरुमा आफूले सहयोग गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिन थालेका छन् ।’

अहिले तत्काल स्थायी समितिको बैठक बोलाउन दबाब नदिने अनुरोधका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई कोटेश्वर पठाएका थिए । तर, ज्ञवालीसँगको भेटमा नेपालले यो प्रस्तावलाई अस्वीकार गरिदिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको प्रतिरक्षामा ओलीनिकट नेता
नेकपाभित्र बहुमत-अल्पमतको चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले पार्टीभित्रैबाट अस्थिरता उत्पन्न गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिरक्षा गरेका छन् ।

‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ । तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्,’ पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री अल्पमतमा परेको पछिल्लो चर्चाको प्रतिरक्षा गर्दै भनेका छन् ।