काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा झण्डै १७ मिनेट लामो भिडियो सन्देश मार्फत शुभकामना दिदैं प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो । आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’
मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ स्वीकार नगर्ने प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने समेत उल्लेख गरेका छन् ।
‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।





प्रतिक्रिया