देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन रणनीति : काठमाडौं प्रवेशमा कडाइ गरौं, उपत्यकाभित्र खुकुलो बनाऊ

देशान्तर

काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश रोक्नु पर्ने माग राखेका छन् । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यका भित्र निर्वाध आवत-जावतलाई कडाई गरी उपत्यका भित्र भने केही खुकुलो बनाउनु पर्ने माग गरेका हुन् । ‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढीरहेका छन् ।

यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत-जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने,  ‘यस्तो बेलामा उपत्यकाबाट हुने आवत-जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । हामीले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री ईश्वर पोखरेलज्युसँगको भेटमा यहि कुरा राखेका छौँ ।’

आवत-जवतलाई कडाई गरे पनि उपत्यका भित्रको चहल-पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव राखेको शाक्यले जानकारी दिए।  ‘काठमाडौंबाट मजदुर-विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन थप समस्या हुन्छ । यसलाई कडाईका साथ रोक्नुपर्छ भनेर पनि भनेका छौँ,’ उनले भने,  ‘हाम्रो मागप्रति मन्त्रीज्यु सकारात्मक हुनुहुन्छ । उहाँले समितिको बैठक र मन्त्रिपरिषद्मा समेत यी कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। ’

संयोजक पोख्रेललाई भेट्न मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत पुगेका थिए । ‘उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल गर्यौँ,’ मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं फोरमका सचिव श्रेष्ठले भने, ‘पुनः लकडाउन थप्ने र खुकुलो बनाउने भन्ने कुरा आइरहेको छ। खुकुलो बनाउने नाममा उपत्यकामा निर्वाध प्रवेश दिनुहुँदैन भनेर हामीले प्रष्टसँग भनेका छौँ ।’

श्रेष्ठले पनि फोरमका मागप्रति मन्त्री सकारात्मक रहेको जानकारी दिए । ‘उपत्यका भित्रको चहलपहललाई खुकुलो बनाउने तर उपत्यका बाहिरबाट आउने र बाहिर जानेलाई कडाई गर्नुपर्छ त्यो भयो भने मात्र उपत्यका सुरक्षित रहन्छ । हामीले हेलचेक्राईँ गर्ने र एक-दुई जना मात्रै संक्रमित उपत्यकामा प्रवेश गर्ने अवस्था भयो भने अवस्था भयावह हुनसक्छ भन्ने जानकारी गराएका छौँ,’ श्रेष्ठले भने,  ‘उपत्यकाका साना व्यवसायी र खेती-किसानीलाई सहज बनाउनुपर्छ भनेका छौँ ।’

फोरमलेले केही समय अघि राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेको थियो । फोरमले यस अघि पनि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो । फोरमले कोरोनाविरुद्धको लडाईँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय पनि गरेको छ ।

नगरपालिका फोरमले उपत्यकाका सबै नाकाबाट आवत-जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर गरेर मात्रै आवत-जावतको प्रवन्ध गर्नुपर्ने लगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।