देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

देशान्तर

वर्षात्सँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले  जानकारी दिनुभयो ।

“जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक केसीले भन्नुभयो, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।” त्यसबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जनाउनुभयो । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रिलेस्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् । “बन्दाबन्दीका कारण क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन”, केन्द्र प्रमुख साहले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर आज इलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति यकिन गरिने छ ।” हुरीबतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भए पनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भइरहेको उहाँले बताउनुभयो ।