देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको छ : देउवा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको बताएका हुन् । अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाको भनाइ थियो ।

प्रतिनिधिसभाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै देउवाले वर्तमान परिस्थितिको संयम भएर सामना गर्न संसदलाई अपील गरेका थिए । ‘सरकारमा नरहेर पनि संकटमा एकताबद्ध भएर लड्न सकिन्छ भन्ने राष्ट्रिय भावनाका साथ कांग्रेस लागिरहेको छ,’ उनले भने । उनले कांग्रेसको वर्तमानमा दोस्रो निती ‘बेथिति, भ्रष्टाचार र अधिकनायकवादी प्रवृत्तिका विरुद्ध लड्ने,’ रहेको बताए ।

देउवाले गाउँ जानेलाई सहज व्यवस्था नगरेकोमा पनि सरकारको आलोचना गरे । ‘न खान दिने न गाउँ जान दिने सरकारको व्यवहारले आहत बनायो,’ उनले थपे, ‘सरकारी राहत पाउनुपर्नेले पाएका छैनन् । सकुम्बासीलाई जाउलो आवश्यक भएको बेला आयोग गठन आवश्यक थिएन ।’ उनले सरकारले सुकुम्बासी आयोग गठन गरेकोमा आपत्ति जनाएका हुन् ।

स्वास्थ्य सामग्रीको अझै अभाव रहेको र खरिद प्रक्रियामा भ्रष्टाचार भएकोमा देउवाले दुःख व्यक्त गरे । उनले भ्रष्टाचारमा संलग्नलाई पदमुक्त गर्न पनि माग गरेका छन् ।