देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । गत शुक्रवार सिंहदरबार अघि नेपाल प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकहरुलाई १० दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।

लकडाउन उल्लंघन गर्दै सिंहदरवार अगाडी ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो । त्यसैक्रममा उनीहरुले प्रहरीलाई कुटपिट समेत गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुमति दिएका हुन् ।

दुइपक्षबीचको झडपका क्रममा चिनियाँ नागरिकहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।