देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइसोलेशन वार्डमा रहेकी सुत्केरीको रिपोर्ट नेगेटिभ

देशान्तर

दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट  परीक्षण गर्दा  नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो । यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् ।

ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा उनी आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए ।

त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको र्‍यापिड डायग्नोष्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।