देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तरी र उदयपुरमा सङ्क्रमित भेटिएपछि सिरहा नाका बन्द

देशान्तर

सप्तरी । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो । तर, सप्तरीमा पनि कोरोना सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सीमानाकासमेत बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले जानकारी दिए ।

छिमेकी सप्तरी र उदयपुर जिल्लामा सङ्क्रमित पाइएकाले सिरहा जिल्ला पनि उच्च जोखिममा परेकाले ती दुवै जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरूपमा बन्द गरिएको र ती जिल्लासँग जोडिएका नाकामा सुरक्षा सतर्कता बढाइएको प्रजिअ गुरागाईँले बताए ।

सप्तरी र उदयपुरका विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल दुवै जिल्लाबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए ।

चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका सप्तरीका ती युवा लकडाउनकै समय गत वैशाख ९ गते पैदलयात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए । अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको  क्वरेण्टीनमा राखिएको थियो ।

वैशाख २५ गते थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा सात जनाको रिपोर्ट प्राप्त भएको र सोही रिपोर्टमा ती युवामा कोरोना सङ्क्रमण देखिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा चुमनलाल दासले जानकारी दिए ।