देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२ लाख ५० हजार धरौटीमा छुटे वडाध्यक्ष

देशान्तर

हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गर्नुभएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो ।

हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेशानुसार शेरपुजा दुई लाख ५० हजार धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र रु ७० हजार जरिवानाको माग दाबी गरेको थियो ।

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बन्नुभएको थियो । स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गरेका शेरपुजा रघुगङ्गा पालिका कार्यसमितिको सचिवसमेत हुनुहुन्छ । फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उहाँको पद निलम्बन हुने कानूनी व्यवस्था छ ।