देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरकारी बाेकेकाे भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने

देशान्तर

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै छ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताउनुभयो । भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।

जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताउनुभयो । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिनुभयो ।सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् ।