देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठोरीमा नेपालले सीमा क्षेत्रमा काँडेतार लगायो

देशान्तर

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।
ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।

यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ । सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।
‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानीसँग भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’