देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

देशान्तर

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।

सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागार्इँले बताउनुभयो । सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । साथै युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उहाँको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको समेत प्रजिअ गुरागाईँले बताउनुभयो ।

गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैबीच आजदेखि लकडाउनलाई अझ कडा बनाइने प्रजिअ गुरागाईँको भनाइ छ ।