संघीय संसद्का दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । दुवै सदनको बैठक बिहान ११ बजे बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्नेछन् ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने कार्यसूची पनि छ । संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् ।
त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे दुई दिन छलफल गर्ने तयारी छ । सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मंगलबार दिने कार्यतालिका छ ।
नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको संयुक्त बैठकमा आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।





प्रतिक्रिया