देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थान विवादले कोरोना परीक्षण केन्द्र स्थापना गर्न अन्योल

देशान्तर

सुर्खेत । प्रदेश सरकारले सुर्खेतको छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ ।

भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाका सुर्खेतका बबई र कुइने तथा सल्यानको कपुरकोटमध्ये पहिलो चरणमा बबई हुँदै छिञ्चु आउनेहरुका लागि परीक्षण केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।

हालसम्म बबईबाट भित्रिनेको ज्वरो मापन गरेर पठाउने गरिएको छ । पछिल्लो समय भारतले रेल सेवा सञ्चालन गरेपछि स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छ । यसले गर्दा सीमानाकामा नेपालीको भीड लाग्ने गरेको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले बबई, छिञ्चुलगायत सम्भावित स्थानको अवलोकन गरेको थियो । बबईमा जग्गाको अभाव भएकाले उक्त टोली छिञ्चुमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने टुङ्गोमा पुगेको थियो ।
छिञ्चुका मदानेचौर र शारदा माविमा स्थापना गरिने केन्द्रबाट स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्ने सरकारको तयारी भए पनि भेरीगङ्गाले बजारको मुख्य केन्द्रमा कोरानो परीक्षण तथा भारतबाट भित्रिएकालाई व्यवस्थापन गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो ।

सामाजिक विकासमन्त्री रावलले परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा क्वारेन्टिनमा पठाइने बताउनुभयो । उहाँका अनुसार रिपोर्ट पोजिटिभ आएमा सीधै प्रदेश अस्पताल सुर्खेत लगिनेछ ।
बबईमा जग्गा नभएपछि आफूहरुले वैकल्पिकरूपमा छिञ्चुमा रहेको शारदा मावि र मदानेचौरलाई छनोट गर्नुपरेको उहाँले बताउनुभयो । रासस