देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल

देशान्तर

शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभयो ।
इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी गरिएको थियो ।

आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ ।
क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडिटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उहाँले बताउनुभयो ।

अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ ।

शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।
यस्तै, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ ।

नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडिटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो ।
आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले जानकारी दिनुभयो ।

आरडिटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उहाँले बताउनुभयो ।

यसअघि आरडिटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो ।

यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गरी पोजेटिभ आएका दुई जनाको पिसिआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।