देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लायन्स क्लबमा इलेक्ट्रोनिक मतदान मार्फत महाधिवेशन, नयाँ नेतृत्व चयन

देशान्तर

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनबाट क्रमशः डिष्ट्रिक्ट गभर्नरमा टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा कर्म गुरुङ्ग निर्वाचित भएका छन् । मुलुकमा जारी लक डाउनका कारण सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै महाधिवेशन सम्पन्न गरिएको निर्वाचन कमिटीका अध्यक्ष समेत रहेका पूर्व गभर्नर कुमारराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार नेपाली लायन्स क्लबकै इतिहासमा पहिलो पटक लायन्स प्रतिनिधिहरुले घरमै बसी अत्यन्त सहज तथा सरल तरिकाले इलेक्ट्रोनिक मतदान गरेका थिए । विभिन्न प्रकारका निर्वाचन गर्ने सिंगो मुलुक सहित अन्य संघ संस्थाहरुले पनि यसरी नै इलेक्ट्रोनिक मतदान गर्दा निर्वाचन पारदर्शी हुनका साथै आर्थिक मितव्ययीता पनि हुने सुवेदीले बताए ।

मतदान प्रक्रियमा सहभागी प्रतिनिधिहरुले पनि पूर्व गभर्नर सुवेदी नेतृत्वको निर्वाचन कमिटीले ऐतिहासिक जिम्मेवारी पूरा गरेको प्रतिक्रिया दिएका छन् । फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित रेवत बहादुर कार्कीले सूचना प्रविधिको प्रयोग सहित सम्पन्न लायन्स क्लबको महाधिवेशन सबैका लागि उदारणीय भएको टिप्पणी गरे । निर्वाचन कमिटीका अध्यक्ष सुवेदी समाजसेवाका अतिरिक्त लोकतान्त्रिक आन्दोलन तथा मानवअधिकार क्षेत्रमा दशकौं अघिदेखि क्रियाशील छन् ।

सुवेदीले दिएको जानकारी अनुसार इलेक्ट्रोनिक मतदानमा २ सय ७१ क्लबबाट कूल ५ सय २९ भोट मध्ये ५ सय ३ भोट खसेको थियो । सो मध्येबाट डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठलाई ४ सय ८७ एस भोट प्राप्त भएको थियो । फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्कीले ४७९ एस भोट पाए । सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन कर्म गुरूङले ४२२ मत पाउँदा अर्का उम्मेद्ववार दिपेन्द्र शाक्यले ८१ भोट प्राप्त गरे ।

डिष्ट्रिक्ट गभर्नर पदमा विजयी श्रेष्ठ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा विजयी गुरूङलाई निर्वाचन कमिटीका अध्यक्ष सुवेदीले प्रमाणपत्र प्रदान गर्दै कार्यकालको सफलताका लागि शुभकामना दिनु भएको थियो । हाल विराटनगरमा रहेका कार्कीलाई भने पछि प्रमाणपत्र प्रदान गरिने सुवेदीले जानकारी दिए ।