देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको संविधान दोस्रो संशोधन विधेयक संसद्मा आज पेश हुने

देशान्तर

काठमाडौं, १४ जेठ । संविधान संशोधन प्रस्ताव आज प्रतिनिधि सभामा पेश हुने भएको छ ।

दिउँसो २ बजे बस्ने संसद् बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, संविधान जारी गरिएको वर्ष असोज १० गते नै गरिएको थियो ।

नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह पनि गरेको छ ।

तर, मधेश केन्द्रित दलहरुले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि यसै बेला एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याउने प्रस्तावलाई समर्थन गर्ने जनाइसकेको छ भने संसदमा रहेका अरु दलले पनि समर्थन गर्ने जनाएका छन् । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।
त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले दशकौंदेखि कब्जा गरेको छ भने नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक भारतले उद्घाटन गरेपछि यो विषय पछिल्लो पटक विवादका रुपमा सतहमा आएको छ । भारतले आफ्नो कब्जामा राखे पनि सुगौली सन्धीलगायतका ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभाग नेपालकै रहेको पुष्टि हुन्छ ।