देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरको सडकमा वृक्षारोपण नै नगरी ७५ लाखको बिल पेश

देशान्तर

भक्तपुर । कोरोना महामारीको संकटमा पनि भ्रष्टाचार कुन रुपमा मौलाउँदै गएको छ भन्ने एउटा दृष्टान्त बनेको छ, भक्तपुरको राधेराधे चोकदेखि सूर्यविनायक चोकसम्मको सडक खण्डमा भएको वृक्षारोपण कार्यक्रम । यस भ्रष्टाचार काण्डमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासँगको मिलेमतोमा भक्तपुर क्षेत्र नं. २ सांसद् एवं पूर्व मन्त्री महेश बस्नेतले करिब ७५ लाख रुपैयाँ घोटाला गर्ने प्रपञ्च रचेको खुलासा भएको छ ।

सांसद् बस्नेतको योजना बमोजिम वृक्षारोपण नै नगरी फर्जी कामदार र विरुवाको बिल बनाएर वन तथा वातावरण मन्त्रालयको वातावरण विभागबाट ७५ लाख रुपैयाँको भुक्तानीको माग गरिएको स्रोतले बतायो । यो काण्डमा मेयर थापाले उपभोक्ता समिति मार्फत फर्जी कामदारको बिल र गौतम नर्सरीलाई सप्लायर बनाएर भ्रष्टाचार गर्ने प्रपञ्च रचिएको स्रोतका दाबी छ । राधेराधे चोकदेखि सुर्यबिनायक चोकसम्मको हरियाली खण्डमा विरुवा रोपेको र माटो फिलिङ गरेको बिल पेश गरिएको स्रोतले बतायो ।

भक्तपुर जिल्लाको ६ लेनको नमुना सडकको राधेराधे चोकदेखि सुर्यबिनायकसम्मको दूरी जम्मा ३ कि.मि. रहेको छ । सडक निर्माण पश्चात् सडककोबीचमा करिब २.५ मिटर हरियाली खण्ड छ । त्यस खण्डमा योभन्दा पहिला पनि फूल, रुख, बिरुवा, दुबो रोपिएको थियो । पहिला रोपिएको बिरुवाको बिचबिचमा सानो बिरुवा पुनः रोपेर, पहिला नै फिलिङ्ग गरिएको माटो फिलिङ्गभन्दै र झार गोडेर करिब २०० बिरुवा पुनः रोपण गरेको देखाएर बन मन्त्रालयको वातावरण बिभागसँग ७५ लाख रुपैयाँ भुक्तानी मग गरिएको स्रोतको दाबी छ ।

सूर्यविनालयक नगरपालिकाका एक जनप्रतिनिधिका अनुसार बस्नेतले नगर प्रमुख थापालाई प्रलोभन र दबाब दिएर उपभोक्ता समिति बनाएर भक्तपुरकै लोकन्थलीको गौतम नर्सरीबाट बिरुवा खरिद गरेको फर्जी बिल बनाइ बिरुवा रोप्ने कामदारको समेत डोर हाजिरी फर्जी तयार गरी भुक्तानी माग गरिएको हो । गौतम नर्सरीलाई बिरुवा सप्लायरको कार्यक्रम काम दिए बापत लाभ लिन लकडाउनकै बखत पनि महेस बस्नेत नर्सरी धाएको र त्यहाबाट आफूले पाउने कमिशन भुक्तानी लिन वातावरण बिभागमा समेत दबाब दिएको स्थानीय प्रतिनिधिले नाम नलेख्ने सर्तमा भने । बिरुवाको प्रकार हेर्दा ज्यादा कपुरको बिरुवा रहेका छन् । जबकी कपुरको विरुवा जिल्ला बन कार्यालयबाट उपभोक्ता समितिलाई निशुल्क वितरण गरिन्छ ।

बस्नेतले उपभोक्ता समितिमा रहेका आफ्ना कार्यकर्तालाई उपयोग गरी फर्जी डोर बिल र डोर हाजिर बनाउन लगाएको र नगरप्रमुख पनि बस्नेतको दबाबमा चुपचाप सदर गर्न राजिभएपछि यो भ्रष्टाचार काण्डले मुर्तरुप पाउन लागेको हो । ‘कर्मचारीले बोले सरुवाको धम्की आउँछ’, सूर्यविनायक नगरपालिकाका एक कर्मचारीले देशान्तरसँग भने, ‘यो विषय अख्यिालर दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको तर अख्तियारले हालसम्म कुनै चासो दिएको छैन ।

वृक्षारोपणको नाममा भएको भ्रष्टाचारबारे पछिल्लो समयमा स्थानीयले पनि प्रश्न उठाउन थालेका छन् । ‘जति काम भएको छ, डोर लागत हेर्ने काम कति भयो ? बिषय बिज्ञको छानबिन र बिरुवा बिज्ञको सिफारिसमा होस । लकडाउनले आक्रान्त नेपालीको रगत पसिनामा आफूले छाक कटाएर तिरेको करको पैसा कोहि सांसद वा नगरप्रमुखको कमिसन नबनोस । एक स्थानीय बासीले आफ्नो नाम नलेखी दिने शर्तमा भन्नू भयो झार गोड्न, कपुरको बिरुवा र केही फुल रोप्न त ४.५ लाख भए पुग्थ्यो होला यहाँ त कार्यकर्तालाई उपभोक्ता बनाएर ब्रम्हलुट नै मच्याउने भए’, राधेराधेका एक स्थानीयले भने ।