काठमाडौं। प्रतिनिधि सभाको शनिबारको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसदहरूले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गरेका छन्। सांसदहरूले दिगो अर्थतन्त्र विकासतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराए।
सर्वसाधारणमा सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न आवश्यक योजनासहित थप सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ थियो। पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमण दैनिक दुईदेखि तीन सयको हाराहारीमा देखिन थालेको छ। बैठकमा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्ने बताए।
उद्योग खुलाउनेतर्फ बजेट व्यवस्था गर्न नसकिएको उनको आरोप थियो। उनले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेगरी उचित बजेटको व्यवस्था हुन नसकेको पनि बताए। विद्युतीय सवारी साधनको कर बढाएर सरकारले व्यवसायिलाई हतोत्साहित पारेको उनको आरोप छ। कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले कोभिड–१९ नियन्त्रणका लागि सञ्चालन भएका क्वारेन्टाइन व्यवस्थित गर्न सरकारसँग माग गरिन्। कोरोना नियन्त्रणका लागि बजेट न्यून भएको उनको भनाइ छ।
कांग्रेसकै पद्मनारायण चौधरीले कृषि क्षेत्र आर्थिक विकासको आधार भए पनि बजेटको प्राथमिकतामा नपरेको भनी चिन्ता प्रकट गरे। उनले पीसीआर परीक्षणको दायरा बढाउँदै आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा तत्काल ठोस कदम चाल्न आग्रह गरे।





प्रतिक्रिया