काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटका कारण विदेशमा रहेका सबै नागरिकलाई एकैपटक नेपाल ल्याउन सम्भव नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा विद्यार्थी समेत गरेर २५–३० लाख मान्छे भएको अनुमान गरे ।
ती मान्छे एकैचोटी फर्किने अवस्था पनि नरहेको बताउँदै उनले अहिले तयारीको स्थिति राम्रो बन्दै गएको उल्लेख गरे ।उनले कोरोना हामी सबैको साझा सत्रु भएको बताउँदै हरेक नेपाली कोरोना विरुद्धको सिपाही भएको बताए । उनले भने, ‘यसको बारेमा कसैले आलोचना गरेर सुझाव दिँदा त्यसलाई नकारत्मक रुपमा लिनुहुँदैन । सारा संसारमा कोरोनाले असर परिरहेको बेला नेपालमा पनि पर्नु स्वभाविक हो ।
नेपालमा पनि सुरुमा रोकथामको प्रयास गरेको हो । सरकारले गरेको प्रयास शतप्रतिशत ठीक रहेको भन्न सकिदैन । छापावाल सुन जस्तो पूर्ण नभएपनि प्रयास गरेको हो ।’ उनले सुरुमा पीसीआर टेष्ट गर्न हङकङ पठाउनुपरेपनि अहिले २१ वटा मेसिन हुँदाहुँदै समेत ब्यवस्थापनमा केही कमजोरी रहेको बताए । मेसिन भएपनि नचलाइएको अवस्था रहेको र त्यसलाई चुस्त दुरुस्त गर्न लागेको उनले बताए ।





प्रतिक्रिया