काठमाडौं । स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर नेपाली सेनालाई विवादमा ल्याउन प्रयास भएको जंगीअड्डाले बताएको छ । कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार-सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगीअड्डाले जनाएको हो ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ।’
स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर नेपाली सेनालाई विवादमा ल्याउने किसिमले समाचार आएको सेनाको ठहर छ । ‘राष्ट्रिय संकटको यस विषम् परिस्थितीमा राष्ट्रिय ऐक्यवद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरुलाई समन्वयात्मक र एकजुट रुपमा परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भिर विषय हो’, सेनाले भनेको छ ।
सरकारले स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्न सेनालाई जिम्मा दिएको थियो । तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको अवस्थामा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितब्ययिता अपनाएको सेनाको दाबी छ । सम्बन्धित देशको सरकारी प्रतिनिधि मात्रको प्रयोग गरी कमिसनरहित रुपमा प्रत्यक्ष कारोबार गरिएको र अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अपनाएको सेनाको दाबी छ ।
आन्तरिक खरिद निर्देशिका समेत जारी गरेको र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ । अहिलेको अवस्थामा माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरु तुलना गर्न नसकिने सेनाको भनाई छ।
पारदर्शिताको लागि चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी चाइना सिनो फार्मा इन्टरनेशनल कोप्रेसनबाट प्राप्त सरकारी मूल्यसूचिलाई नेपाल सरकारका सम्बद्ध सबै निकायहरुसँग समन्वय र सहमती लिई नेपाल सरकारको स्वीकृत प्राप्त भए पश्चात खरिद गरिएको सेनाले जनाएको छ । सेनाले खरिद गरेका सामग्रीहरु हाल बिभिन्न प्रदेशहरुमा बितरण भइरहेको छ ।
सिनो मार्फासँग सेनाले सवा दुई अर्ब बराबरको ३४२ टन स्वास्थ्य सामग्री खरिद गरेको हो । यीमध्ये अधिकांश स्वास्थ्य सामग्री आइसकेको र बाँकी यहि साता आइसक्ने सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिएका छन् ।





प्रतिक्रिया