काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्दै सवारी साधन चल्न दिने निर्णयसँगै केहि कडाइका नियमहरु लगाउन थालेको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।
तर अब मोटरसाइकलमा एक जना भन्दा बढी चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।
यो नियम आजैदेखि लागू हुने जनाइएको छ । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।
लकडाउन केहि खुकुलो बनाइए पनि नेपालमा कोरोना भाइरस संक्रमण जोखिम दिनहुँ बढिरहेकाले यस्तो नियम लागू गरिएको जनाइएको छ । आज मात्र नेपालमा थप २५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६१४ पुगिसकेको छ ।
सार्वजनिक यातायात नचल्ने, निजीमा जोर-विजोर प्रणाली
यस्तै सरकारले सार्वजनिक यातायात तत्काल चल्न नदिने निर्णय गरेको छ । निजी सवारी साधन सञ्चालनमा भने सहज हुने भएका छ ।
उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने निर्णय भएको छ ।





प्रतिक्रिया