देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री ज्ञवालीले गरे क्यानडा र बेलायतका विदशेमन्त्रीसँग वार्ता

देशान्तर

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उनीहरूले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उनीहरूले व्यक्त गरे । कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उनीहरूले ऐक्यबद्धता जनाएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा मृत्ककाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गरे।

कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उनीहरूले जोड दिए । उनीहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन क्यानाडाका विदेशमन्त्रीले दिएको र बेलायतका विदेशराज्यमन्त्रीले महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।