काठमाडौ । बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा। उदयनारायण सिंहले जानकारी दिए।
उनका अनुसार बालकको हिजो राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
डा। सिंहले बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए। पछि अवस्था जटिल भएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो।
हिजै अस्पतालमा भर्ना भएका उनलाई पछि स्वासप्रस्वासमा पनि समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो। तर सोही क्रममा बालकको मृत्यु भएको हो। निजगढ नगरपालिका–६ माथिल्लो योजना टोलका बालकमा कोरोना संक्रमण पुष्टि भएपछि निजगढमा त्रास देखिएको छ । बालकलाई लगिएको स्वास्थ्य संस्था सिल गरिएको छ भने बजार पनि बन्द गरिएको छ ।
शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ । बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ती निकालेका छन् । नगर प्रमुख सुरेश कुमार खनालले जारी गरेको सूचनामा शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ ।





प्रतिक्रिया