देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौरजहारी घटना : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, हत्या गरेर भेरीमा फालेको प्रहरीको निष्कर्ष

देशान्तर

रुकुमपश्चिम । चौरजहारी नगरपालिका-८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो ।

पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो । त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।

पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

उहाँका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ ।

प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ ९ख० बमोजिम सजायको माग दावी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो ।

आज अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताउनुभयो । पक्राउ परेकामध्ये दुई बालबालिका छन् । उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन् ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । सोती घटनामा छ जनाको निधन भएको थियो ।

हत्या गरेर भेरीमा फालेको प्रहरीको निष्कर्ष
रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या योजनाबद्ध रुपमा बाटोमा छेकेर भएको प्रहरीको निष्कर्ष छ । पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानको आधारमा निष्कर्ष निकालिएको प्रहरीको भनाइ छ ।

आइतबार प्रहरीले निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।